आन्तरिक पर्यटकको रोजाइमा डडेल्धुराको कस्याडाँडा

डडेल्धुरा | मंसिर २, २०८१

आन्तरिक पर्यटकको रोजाइमा डडेल्धुराको कस्याडाँडा

डडेल्धुरा:   अमरगढी नगरपालिका–७ मा अवस्थित कस्याडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ । सूर्योदय र सूर्यास्तको रमणीय दृश्य अवलोकन गर्न सकिने भएकाले पछिल्लो सयम यहाँ आन्तरिक पर्यटकको आगमन बढ्न थालेको हो ।


सूर्योदय र सूर्यास्तका साथै सदमुकाम अमरगढी नगरपालिका, नवदुर्गा, गन्यापधुरा, अजयमेरु गाउँपालिकाका अधिकांश भू–भागको दृश्यावलोकन गर्न दैनिक सयभन्दा बढी आन्तरीक पर्यटक पुग्ने गरेका छन् ।


डडेल्धुरा–बैतडी राजमार्गको पश्चिम खण्डसँगै जोडिएको कस्याडाँडाले धार्मिक एवं ऐतिहासिक महत्व बोकेको छ । डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गको सुर्कालबाट १५ मिनेट पैदल उकालो चढ्दा कस्याडाँडा पुग्न सकिन्छ ।


जिल्लाको सबैभन्दा अग्लो डाँडामध्ये यसलाई प्राचीन, धार्मिक तथा ऐतिहासिक महत्व बोकेको डाँडाका रूपमा मानिने स्थानीय बताउँछन् । 


डोड्याली राजा नागी मल्लसहित लेगी समैजी, शिखर, शैलेश्वर महादेव, भूमिराज, उग्रतारा भगवती माताको धार्मिक क्षेत्रका रूपमा पनि कस्यालाई लिने गरिन्छ । यो डाँडा समुद्री सतहबाट छ हजार पाँच सय फिट उचाइमा अवस्थित छ ।


भारतमा बस्दै आउनुभएका अजयमेरु–३ का महेश ऐरले घर आएको मौकामा यहाँ पुगेको भन्दै कस्याडाँडा घुम्नै पर्ने रमणीय स्थानका रूपमा रहेको बताउनुभयो ।


“पहिला यहाँ आउन पाएको थिएन, यो ठाउँ निकै रमाइलो रहेछ”, उहाँले भन्नुभयो, “यहाँबाट सूर्योदय र सूर्यास्तको रमणीय दृश्य राम्रोसँग हेर्न सकिन्छ ।”


आलितालका मीना साउँदले पनि साथीभाइसँग रमाइलो गर्न कस्याडाँडा पुगेको बताउनुभयो । रमाइलो र नजिकैको पर्यटकीय गन्तव्य भए पनि प्रचारप्रसारको कमीले ओझेलमा परेको उहाँले प्रतिक्रिया दिनुभयो । 


डडेल्धुरा बजारबाट हिँड्दै पनि पुग्न सकिने यो ठाउँमा बैतडी, डोटीलगायत सुदूरपश्मिका आन्तरिक पर्यटकका लागि नजिकको सुन्दर गन्तव्य बन्न सक्ने साउँदले उल्लेख गर्नुभयो । 


उहाँले भन्नुभयो, “यहाँ पुग्ने बाटो पनि व्यवस्थित छ, स्थानीय सरकारले यसको प्रवर्द्धन गर्न सके स्थानयिको आयस्तर वृद्धि हुनुका साथै रोजगारीका अवसर पनि सृजना हुने छन् ।”


पहिला सुनसानजस्तै रहेको यो ठाउँमा पर्यटकको चहलपहल बढ्न थालेको छ–सात वर्ष भयो । अहिले दिनमा एक सयको हाराहारीमा आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका स्थानीय अटोचालक धौलि दमाइँले बताउनुभयो ।


उहाँका अनुसार यहाँ आउने अधिकांशले आफैँले खानेकुरा बोकेर आउँछन् । यहाँ नजिक बस्ती र होटल नरहेकाले खानापिनमा समस्या हुने भन्दै उहाँले यसलाई थप व्यवस्थित बनाउँदै नजिक होटल सञ्चालन भएका पर्यटकीय गतिविधि बढ्ने उहाँले उल्लेख गर्नुभयो । 


पछिल्लो समयमा स्थानीयसहित अमरगढी–७ को ब्राइट भिजन क्लबले कस्या टाकुरो ९डाँडा० को पर्यटकीय सम्भावनाका बारेमा प्रचारप्रसार गरेपछि अमरगढी नगरपालिकाकोे सहयोगमा भ्यूप्वाइन्ट, दृश्यावलोकन स्तम्भ, डाँडाको टुप्पोसम्म पुग्ने पैदल बाटो, बस्ने ठाउँलगायत पूर्वाधार निर्माण भएका छन् ।


कस्याडाँडामाथि भ्यूटावर निर्माण गरी आन्तरिक एवं बाह्य पर्यटक भित्रयाउन सके आर्थिक गतिविधि चलायमान हुने क्लबका अध्यक्ष दीपकराज भट्टराईले विश्वास व्यक्त गर्नुभयो । 


नागरिक अगुवा सिद्धराज पाठकका अनुसार कस्याडाँडा र आसपासका क्षेत्रमा आन्तरिक पर्यटकका लागि आकर्षक स्थल निर्माण भएका छन् ।


होटलसहित अन्य पूर्वाधार निर्माण गरी आर्थिक र व्यावसायिक रूपमा यसलाई प्रवर्द्धन गर्न स्थानीय सरकारले नीति बनाएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।


यहाँबाट महाभारत पर्वत शृङ्खलासहित डोटी, आछाम, बैतडी र भारतको केही भूभाग देख्न सकिने उहाँले जानकारी दिनुभयो । डडेल्धुराबाट कस्याडाँडा पुग्न पक्की बाटो बनेको छ ।


कस्याडाँडा सदरमुकाम भन्दा १२ किलोमिटर उत्तरतर्फ महाकाली राजमार्गसँगै जोडिएको छ । हिँडेर जाँदा करिब तीन घण्टा र मोटरसाइकल वा गाडीमा जाँदा २५ देखि ३० मिनेटमा पुगिन्छ । 


कस्याडाँडाको इतिहास


कस्याडाँडामाथि ठूलो मैदान रहेको भन्दै यो प्राचीनकालमा निर्माण भएको आफूले सुन्दै आएको अमरगढी–७ का ६२ वर्षीय केशव भण्डारीले बताउनुभयो । 


“सुनेको आधारमा यहाँ एउटा बुढी महिला पछिसम्म बस्थिन् । यसको बारेमा कुनै सत्यता वा अभिलेख भने छैन । अमरगढी–६, ७ र ८ का बुढापाकाले सुनाउने कुराका आधारमा कस्याडाँडामा राजकोट थियो”, उहाँले भन्नुभयो । 


अहिले यहाँ कुनै कोटको संरचना नरहेको स्थानीय महेश भट्टराईले बताउनुभयो । “यस डाँडाको इतिहास २ हजार ५ सय वर्षभन्दा पुरानो हो । गाउँ पुरिँदा यहाँ कैयौंले ज्यान गुमाउनु परेकाले सुरुमा यसलाई काल अर्थात् सुर्काल भनिन्थ्यो”, उहाँले भन्नुभयो ।  


यससँगै डाँडाबाट करिब एक हजार पाँचसय मिटर तल ढुङ्गाको ओखल पनि देखिन्छ । उक्त स्थानलाई अहिले ओखलढुङ्गा भन्ने गरिएको भट्टराईले बताउनुभयो । ओखलढुङ्गाको पूर्वउत्तरमा डाँडु खोला छ । 


इतिहासका बारेमा अध्ययन र अनुसन्धान गरी तथ्य पत्ता लगाउन उहाँले स्थानीर सरकार र सरोकार भएका निकायलाई आग्रह गर्नुभयो ।


यहाँको तथ्य अध्ययन गरी पर्यटन प्रवर्द्धन गर्न सके कस्याडाँडालाई सुदूरपश्चिम क्षेत्रकै रमणीय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीय जानकार बताउँछन् । 
 

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्